Logo

 ७ साउन,काठमाडौं । संयुक्त राज्य अमेरिका र साउदी अरेबियाबीच ऐतिहासिक आणविक सहयोग सम्झौता भएको छ। सम्झौताअनुसार साउदी अरेबियाले आफ्नो नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्न पाउनेछ।

अमेरिकी ऊर्जा विभागका अनुसार यो सम्झौता ‘शान्तिपूर्ण आणविक सहयोग सम्झौता’ अन्तर्गत भएको हो। यसले अमेरिकी कम्पनीहरूलाई साउदी अरेबियाको आणविक ऊर्जा परियोजनामा काम गर्ने अवसर प्रदान गर्नेछ।

सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। यद्यपि अमेरिकी सञ्चारमाध्यमहरूले भविष्यमा यस सम्झौताले साउदी अरेबियालाई युरेनियम समृद्ध गर्ने प्रक्रियामा अघि बढ्न अनुमति दिन सक्ने उल्लेख गरेका छन्।

समृद्ध युरेनियम आणविक ऊर्जा केन्द्रका लागि इन्धनका रूपमा प्रयोग हुने भए पनि यही प्रविधि आणविक हतियार निर्माणमा समेत प्रयोग गर्न सकिने भएकाले विज्ञहरूले सम्भावित जोखिमप्रति चिन्ता व्यक्त गरेका छन्।

विज्ञहरूका अनुसार यदि साउदी अरेबियाले युरेनियम समृद्ध गर्ने अधिकार प्राप्त गरेमा यो अमेरिकाले दिएको पहिलो यस्तो अनुमति हुन सक्नेछ। यसले अस्थिर पश्चिम एसियामा आणविक हतियार विस्तारको जोखिम बढाउन सक्ने उनीहरूको भनाइ छ।

अमेरिकी ऊर्जा विभागले आणविक सहयोग सम्झौतासँगै दुई देशबीच द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको जनाएको छ। सम्झौताले ऊर्जा सहकार्यसँगै दुई देशबीचको रणनीतिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार