Logo

७ साउन, वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव (त्रि.वि. दिवस) को अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ र ३ का प्रतिनिधिसभा सदस्यहरूले वीरगञ्जस्थित वीरगञ्ज नर्सिङ क्याम्पस (बिर्ता) को अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि, भौतिक पूर्वाधार तथा भावी विकास योजनाबारे केन्द्रित कार्यक्रममा क्याम्पस प्रशासन, पूर्वविद्यार्थी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा क्याम्पसका पहिलो ब्याचका विद्यार्थीसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा. आर.पी. खेतान ले करिब पाँच दशक लामो इतिहास बोकेको वीरगञ्ज नर्सिङ क्याम्पसले अहिलेसम्म आफ्नै शिक्षण अस्पताल स्थापना गर्न नसक्नु दुःखद विषय भएको बताउनुभयो। नर्सिङ शिक्षा क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएको संस्थाले आवश्यक पूर्वाधार र शिक्षण अस्पतालको अभावका कारण अपेक्षित गति लिन नसकेको उहाँको भनाइ थियो।

त्यस्तै, क्याम्पस प्रमुख कल्पना पौडेल ले करिब सात बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसका अधिकांश भवन जीर्ण अवस्थामा पुगेको जानकारी दिनुभयो। पर्याप्त बजेट अभावका कारण मर्मतसम्भार र पूर्वाधार विस्तारमा समस्या भइरहेको तथा त्यसले शैक्षिक वातावरणसमेत प्रभावित पारेको उहाँले बताउनुभयो। ऐतिहासिक महत्त्व बोकेको यस क्याम्पसको संरक्षण, आधुनिकीकरण र आवश्यक संरचना निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने उहाँको जोड थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुपर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसिया ले वीरगञ्ज नर्सिङ क्याम्पसको समग्र विकासका लागि संघीय सरकारसमक्ष आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँहरूले क्याम्पसको भौतिक पूर्वाधार सुधार, आवश्यक बजेट व्यवस्थापन तथा बहुप्रतीक्षित शिक्षण अस्पताल निर्माणको विषयलाई सम्बन्धित मन्त्रालय र निकायमा प्रभावकारी रूपमा उठाउने आश्वासन दिनुभयो।

अन्तरक्रियापछि सांसदद्वयले क्याम्पसका विभिन्न भवन, कक्षा कोठा तथा शैक्षिक संरचनाको स्थलगत अवलोकन गर्नुभएको थियो। अवलोकनका क्रममा उहाँहरूले देशकै नर्सिङ शिक्षाको इतिहाससँग जोडिएको यस क्याम्पसको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा वीरगञ्ज युवा समाजका अमित गुप्ता, सामाजिक अभियन्ता मार्टिन मोक्तान, सञ्चारकर्मी मुकेश सिंह, क्याम्पस परिवार, शिक्षक, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रमले वीरगञ्ज नर्सिङ क्याम्पसको ऐतिहासिक महत्त्व, वर्तमान चुनौती र भविष्यमा आवश्यक सरकारी सहयोगको आवश्यकता पुनः उजागर गरेको सहभागीहरूले बताएका छन्। शिक्षण अस्पताल स्थापना, जीर्ण भवनको पुनर्निर्माण, आधुनिक पूर्वाधार विकास तथा पर्याप्त बजेट व्यवस्थापन भएमा क्याम्पसले अझ प्रभावकारी रूपमा दक्ष नर्सिङ जनशक्ति उत्पादन गर्न सक्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार