Logo

८ साउन,काठमाडौं । जलवायु परिवर्तनको प्रभाव उत्तरी अफगानिस्तानका विभिन्न क्षेत्रमा तीव्र रूपमा देखिन थालेको छ। अनपेक्षित तापक्रम वृद्धि, बेमौसमी वर्षा, असिनाबारी र अन्य प्रतिकूल मौसमका कारण बालीनाली नष्ट हुँदा किसानको जीविकोपार्जन संकटमा परेको छ।

राजधानी काबुलबाट करिब १६० किलोमिटर उत्तरमा रहेको बागलान प्रान्तका ५६ वर्षीय किसान अब्दुल हमिदले यस वर्ष आफ्नो बाली पूर्ण रूपमा नष्ट भएको बताएका छन्। १८ वर्षदेखि कृषिमा संलग्न उनले बेमौसमी वर्षा र नयाँ प्रकारका रोगका कारण गहुँ, टमाटर र खर्बुजाको उत्पादनमा ठूलो क्षति पुगेको बताए।

उनका अनुसार गत वर्ष करिब साढे चार लाख अफगानी आम्दानी भएकोमा यस वर्ष हालसम्म केवल ३० हजार अफगानी बराबरको कृषि उपज मात्र बिक्री गर्न सकेका छन्।

छिमेकी कुन्दुज प्रान्तका किसानहरूले पनि मौसममा आएको अस्वाभाविक परिवर्तनका कारण खेतीपाती प्रभावित भएको बताएका छन्। अत्यधिक गर्मीका कारण बोटबिरुवा सुक्ने, उत्पादन घट्ने तथा तरकारी बालीमा किराको प्रकोप बढेको उनीहरूको भनाइ छ। स्थानीय किसान बाज मोहम्मदका अनुसार तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि यसअघि नदेखिएको किराको समस्या देखिएको छ।

करिब ३ करोड ७० लाख जनसंख्या रहेको अफगानिस्तानमा झन्डै ८० प्रतिशत नागरिकको मुख्य जीविकोपार्जन कृषि हो। संयुक्त राष्ट्रसंघीय सहायता नियोगको हालैको प्रतिवेदनअनुसार खडेरी र जलस्रोतको अभावका कारण देशको आधाभन्दा बढी जनसंख्या प्रभावित भएको छ।

यसैबीच, लामो खडेरीसँगै आउने आकस्मिक बाढीले पनि कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याइरहेको छ। अफगानिस्तानको प्राकृतिक प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा मात्रै बाढीका कारण ३२ हजार एकडभन्दा बढी खेतीयोग्य जमिन नष्ट भएको छ।

विज्ञहरूले जलवायु परिवर्तनसँगै आधुनिक कृषि उपकरणको अभाव, परम्परागत खेती प्रणाली, कमजोर सडक पूर्वाधार, शीत भण्डारणको कमी र जलवायु अनुकूल बीउबिजनको अभावले अफगानिस्तानको कृषि क्षेत्र थप संकटमा परेको बताएका छन्। उनीहरूले बढ्दो तापक्रम र वातावरणीय असन्तुलनले देशको कृषि प्रणालीमा दीर्घकालीन जोखिम सिर्जना गरिरहेको चेतावनी दिएका छन्।


सम्बन्धित समाचार