८ साउन,काठमाडौं । सरकारले साप्ताहिक रूपमा लागू गरिएको आइतबारको सार्वजनिक बिदा फिर्ता नलिने स्पष्ट गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदाले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने भएकाले यस निर्णयबाट सरकार पछि नहट्ने बताएका हुन्।
मन्त्री पोखरेलले आइतबारको बिदाबारे विभिन्न असन्तुष्टि र गुनासाहरू आएको जानकारी भए पनि त्यसको प्रभावलाई मध्यनजर गर्दै निर्णय कायम राखिएको बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यासले साप्ताहिक दुई दिन बिदा दिँदा कार्यसम्पादनमा सुधार, उत्पादकत्व वृद्धि तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने देखिएको छ। नेपालमा पनि सोही अभ्यास लागू गर्ने उद्देश्यले आइतबार बिदा दिने व्यवस्था गरिएको उनले बताए।
‘आइतबारको बिदाले तत्काल केही असहजता महसुस गराए पनि दीर्घकालमा यसको सकारात्मक परिणाम देखिनेछ। मानसिक स्वास्थ्यका दृष्टिले पनि साप्ताहिक दुई दिनको बिदा आवश्यक छ,’ मन्त्री पोखरेलले भने।
उनले हाल सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा आइतबारको बिदा कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै निजी क्षेत्रमा पनि यो व्यवस्था लागू गर्न सरकार आवश्यक पहल र सहकार्य गर्ने जानकारी दिए।
बालबालिकाको विद्यालय सञ्चालनसँग सम्बन्धित चासोबारे मन्त्री पोखरेलले अभिभावकलाई लक्षित गर्दै आइतबार बिदाको व्यवस्था गरिएको उल्लेख गरे। उनले निजी क्षेत्रसँग समन्वय गरेर यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सरकारको योजना रहेको बताए।




















