Logo

८ साउन,वीरगञ्ज ।  पर्साका विभिन्न सीमावर्ती नाकाबाट भारतबाट भन्सार छली गरी ल्याइँदै गरेका २१ लाख ३९ हजार ६५५ रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्सा मातहतका विभिन्न टोलीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको चेकजाँचका क्रममा औषधि, कपडा, मोटर पार्ट्स, कस्मेटिक, किराना सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको हो।

सीमा सुरक्षा गुल्म हेडक्वाटर अलौबाट खटिएको मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–१७ अलौस्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको प्र.२–०३–००१ स ६०९७ नम्बरको ई–लोडर नियन्त्रणमा लिएको छ। उक्त ई–लोडरबाट १२ लाख ७५ हजार रुपैयाँ बराबरको आठ कार्टुन भिटामिन औषधि र करिब ४ लाख रुपैयाँ मूल्यको ई–लोडर बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सोही टोलीले ना.२६ प २०१८ नम्बरको मोटरसाइकलसहित ३१ हजार ९१५ रुपैयाँ बराबरको किराना सामान पनि बरामद गरेको छ। मोटरसाइकलको मूल्य करिब २ लाख रुपैयाँ रहेको जनाइएको छ।

यस्तै, वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा रहेको चेकपोस्टबाट बिलबिजकविहीन १ लाख ४५ हजार ४०० रुपैयाँ बराबरका ‘एसडी’ (ESSDEE) ब्रान्डका कपडा, स्टेशनरी तथा हार्मोनियम बरामद गरिएको छ।

बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीमा बिओपी अमरपट्टीबाट खटिएको टोलीले चारवटा साइकलमा ल्याइँदै गरेको ४७ हजार २०० रुपैयाँ बराबरका मोटर पार्ट्स, कपडा र किराना सामानसहित ८ हजार रुपैयाँ मूल्यका साइकल गरी कुल ५५ हजार २०० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

त्यस्तै, छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित बिओपी भिष्वाको टोलीले ३२ हजार १४० रुपैयाँ बराबरका भन्सार छलीका कस्मेटिक तथा किराना सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

बरामद गरिएका सबै सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार