८ साउन,काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानुनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि प्रमुख चुनौती बनेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले सामना गरिरहेका समस्या र चुनौतीबारे जानकारी गराएका हुन्।
उनका अनुसार पछिल्लो समय रोहिंग्या, पाकिस्तानी र सोमालियाली नागरिक भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढेको छ। विभिन्न स्थानमा समूह बनाएर बस्ने गरेका केही विदेशी नागरिक लागुऔषध कारोबारलगायतका सुरक्षा संवेदनशील गतिविधिमा संलग्न रहेको पाइएको उनले बताए।
“सीमावर्ती क्षेत्रको सुरक्षाका सन्दर्भमा रोहिंग्या शरणार्थीको विषय पनि चुनौतीका रूपमा देखिएको छ। भारततर्फबाट नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोबास गर्न खोज्ने रोहिंग्यासहित अन्य देशका नागरिकलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ,” कार्कीले भने।
बैठकमा उनले दक्षिणी सीमाबाट मल खरिद गर्ने क्रममा केही नेपाली नागरिक तस्करीको अभियोगमा भारतीय प्रहरीको हिरासतमा रहेको जानकारी दिए। उक्त विषयमा ‘प्रहरी–प्रहरी’ समन्वय र कूटनीतिक पहलमार्फत कानुनी प्रक्रिया अघि बढाइएको र उनीहरू छिट्टै रिहा हुने अवस्थामा रहेको उनले बताए।
महानिरीक्षक कार्कीले सीमापार हुने अपराधमा नेपालको कानुनले बाह्य क्षेत्राधिकार नदिँदा अनुसन्धान र कारबाहीमा समस्या हुने गरेको उल्लेख गरे। विशेषगरी चोरी तथा अन्य सीमापार अपराध नियन्त्रणमा कानुनी जटिलता रहेको उनको भनाइ थियो।
उनले सीमा क्षेत्रमा अवैध हातहतियार ओसारपसार, लागुऔषध तस्करी, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन सट्टेबाजी तथा अवैध वैदेशिक रोजगारीसम्बन्धी ठगीलाई प्रहरीले प्रमुख चुनौतीका रूपमा लिएको बताए।
वैदेशिक रोजगारीको प्रलोभनमा हुने ठगी र ओटीपीमार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले नियमित गस्ती, निगरानी, संयुक्त सुरक्षा अभियानका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त कुकुर (के–९) जस्ता प्रविधिको प्रयोग गर्दै आएको महानिरीक्षक कार्कीले जानकारी दिए।




















