९ साउन,काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन थालेको छ।
विराटनगरसहित पूर्वी क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने र अनियमित रूपमा बत्ती जाने समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका थिए।
सोही निर्देशनअनुसार प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालसहितको टोली पूर्वी क्षेत्रमा पुगेको हो।
अनुगमन टोलीले प्रादेशिक कार्यालय प्रमुख, मोरङ र सुनसरीका वितरण शाखा प्रमुख तथा अन्य अधिकारीहरूसँग विद्युत् आपूर्तिको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल गरेको छ।
प्राधिकरणका अनुसार प्रादेशिक कार्यालयमा २४ जना कार्यालय तथा केन्द्र प्रमुख सहभागी भएको समन्वयात्मक बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइएको थियो।
टोलीले ट्रान्सफर्मर मर्मत कार्यशालाको निरीक्षण गर्नुका साथै दुहबी ग्रिड महाशाखाअन्तर्गतको दुहबी सबस्टेसनको अवस्थासमेत अवलोकन गरेको छ। सबस्टेसनको तयारी र आवश्यक कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, सुनसरीको बर्जुमा निर्माणाधीन १३२ केभी सबस्टेसन तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कर्मचारी र निर्माण कम्पनीलाई कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइएको छ।
मोरङको केरङस्थित सबस्टेसन पनि एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखी निर्माण कार्यलाई तीव्रता दिन भनिएको छ। दुवै सबस्टेसन पूर्वी क्षेत्रको विद्युत् आपूर्ति प्रणालीका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निर्माण कम्पनीलाई पर्याप्त मजदुर परिचालन गर्न तथा आवश्यक समन्वय र सहजीकरणमार्फत आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएको छ।
पूर्वी क्षेत्रमा सञ्चालनमा रहेका अन्य आयोजना, प्रादेशिक कार्यालय तथा वितरण शाखाको अनुगमन पनि जारी रहेको प्राधिकरणले जनाएको छ। विद्युत् सेवालाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइएको छ।




















