१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको तय भइसकेको भारत भ्रमण अन्तिम समयमा आएर रोकिएको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उहाँ शनिबार नै जाने तयारीमा हुनुहुन्थ्यो । पछि आइतबारका लागि सारिएको उक्त भ्रमण अन्तिम समयमा रद्द गरिएको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले नितान्त आन्तरिक तथा प्राविधिक कारणले भ्रमण स्थगित भएको र नयाँ मिति तय भइनसकेको जानकारी दिनुभएको छ ।
औपचारिक रूपमा प्राविधिक कारण देखाइए पनि भ्रमण रोकिनुको मुख्य कारण पार्टीभित्रको तीव्र आन्तरिक विवाद रहेको स्रोतको दाबी छ ।
विशेष महाधिवेशनबाट थापा सभापति बनेदेखि नै संस्थापन र इतर पक्षबिच असन्तुष्टि चुलिँदै गएको छ । पछिल्लो समय सभापति थापा र इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्का समूहले छुट्टाछुट्टै देशव्यापी अभियान सञ्चालन गरिरहेका छन् । यही चर्किएको आन्तरिक खिचातानी र गुटगत विवादका कारण नै थापाले दिल्ली यात्रा स्थगित गर्नुपरेको विश्लेषण गरिएको छ ।




















