१० साउन, वीरगञ्ज । पर्साबाट शनिबार राति ठूलो परिमाणको गाँजा बरामद भएको छ ।
पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरस्थित एक आँपको बगैँचाबाट १४० किलो गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल (बीओपी) मिर्जापुरको संयुक्त सुरक्षा टोलीले बगैँचामा लुकाइराखेको अवस्थामा १४० किलो गाँजा नियन्त्रणमा लिएको हो ।
सुरक्षाकर्मीको टोलीले बगैँचामा छापा मार्दा बाक्लो घाँसभित्र झाडीमा लुकाएर राखिएका १३ वटा प्लास्टिकका पोकाहरू फेला पारेको थियो । प्रहरी टोली पुग्नुअघि नै संलग्न व्यक्तिहरू फरार भइसकेकाले घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकिएको छैन ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिई तस्करीमा संलग्न समूहको खोजी कार्यका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




















