१० साउन, काठमाडौं । सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको ‘चुच्चे नक्सा’ र आकाश भैरवको चित्र राखेर नयाँ डिजाइन तयार पारेको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि मुस्ताङको घार गुम्बा अंकित डिजाइन स्वीकृतिका लागि पठाएको भए पनि मन्त्रिपरिषद्ले त्यसलाई परिमार्जन गर्न निर्देशनसहित फिर्ता पठाएको थियो । सोही बमोजिम परिमार्जन गरी तयार पारिएको नयाँ डिजाइनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरी अर्थ मन्त्रालय हुँदै राष्ट्र बैंकमा पठाइसकेको छ ।
राष्ट्र बैंक ऐनको कानूनी व्यवस्थाअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा फेरबदलका लागि मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य मानिन्छ। नयाँ सिक्काबारे जानकारी दिँदै राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्कामा ६४ योगिनीको प्रतीक मानिने ६४ वटा थोप्ला र सांस्कृतिक महत्त्वका प्रतीकहरू यथावत् रहने बताउनुभयो ।
साथै, हालको एक रुपैयाँको सिक्का ढलाई गर्दा अंकित मूल्यभन्दा बढी लागत परिरहेकाले उत्पादन खर्च घटाउन तौल, आकार र प्रयोग हुने धातुमा परिमार्जन गर्न लागिएको छ । पहिले प्रयोग गरिएको मिश्रित धातुको सट्टा अब वातावरणमैत्री र किफायती मानिने ‘स्टिल’ मात्र प्रयोग गरिने भएकाले सिक्काको उत्पादन लागतमा उल्लेख्य कमी आउने बैंकले जनाएको छ ।




















