Logo

१० साउन, चितवन । स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणलाई जोड्दै रोटरी क्लब अफ चितवनले नवलपुरको बुलिङटार गाउँपालिका–४ बोझापोखरीमा बहुआयामिक सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ।

क्लबको आयोजनामा आइतबार श्री तीनकन्या आधारभूत विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीको निःशुल्क मुटु परीक्षण गरिएको छ। साथै विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी तथा खेलकुद सामग्रीसमेत वितरण गरिएको छ।

विद्यार्थीहरुको स्वास्थ्य परीक्षण चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सक डा। अजित कुमार मिश्र र डा. रवि रोकायाले गरेका थिए। ग्रामीण क्षेत्रका विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्भावित मुटु सम्बन्धी समस्याको पहिचान गर्ने उद्देश्यले परीक्षण गरिएको रोटरीले जनाएको छ।

विद्यालयका सहायक प्रधानाध्यापक देउरुपा पाण्डेका अनुसार विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीसँगै समुदायगत विविधता पनि रहेको छ। उनका अनुसार विद्यालयका ५३ जना विद्यार्थी मगर समुदायका र २ जना ब्राह्मण समुदायका रहेका छन्।

स्वास्थ्य र शिक्षासँगै वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै रोटरी चितवनले सोही क्षेत्रमा एक हजार वटा कफीका बिरुवा रोपेको छ। स्थानीयस्तरमा हरियाली प्रवर्द्धनसँगै आयआर्जनको सम्भावना बढाउने उद्देश्यले कफीका बिरुवा रोपिएको हो।

रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुलिङटार गाउँपालिका–४ का वडा अध्यक्ष मिनबहादुर आले प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा रोटरी क्लब अफ चितवनका आरसीसी चियर रुविन रामुदामुले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पूर्वअध्यक्ष उत्तमलाल चुकेले रोटरी क्लबको उद्देश्य तथा सामाजिक गतिविधिबारे जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष आलेले रोटरी अन्तर्राष्ट्रिय स्तरमा सामाजिक सेवामा सक्रिय संस्था रहेको उल्लेख गर्दै चितवन रोटरीले यस क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। उनले सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने बताए।

त्यस्तै तीनकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक खुमराज सुस्लिङले रोटरी क्लबको सहयोगले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्षहरु भानु शर्मा, रोशन पिया, ज्ञानेन्द्रमान शाक्य, दीपक प्रधानलगायतको सहभागिता रहेको थियो।

रोटरी क्लब अफ चितवनले स्वास्थ्य सेवा, शिक्षा सहयोग र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।


सम्बन्धित समाचार