११ साउन,वीरगञ्ज । सरकारले नारायणी अस्पतालमा भएको आक्रमण र तोडफोडको घटनापछि आन्दोलनमा उत्रिएका वीरगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल उपचार सेवा सुचारु गर्न आग्रह गरेको छ।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित भीडले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरेको थियो। घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आइतबारदेखि आकस्मिकसहित अधिकांश सेवा बन्द गरेर आन्दोलन गरिरहेका छन्।
यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा फर्किन अनुरोध गरेको हो।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
मन्त्रालयले बिरामीको जीवनरक्षा गर्ने जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भए त्यसको छानबिन र न्याय प्रचलित कानुनअनुसार हुने व्यवस्था रहेको जनाएको छ। साथै, स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ सेवा दिन सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु गर्न, स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन तथा सर्वसाधारणलाई अस्पतालको संवेदनशीलता बुझेर उपचार सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न अनुरोध गरेको छ।
नारायणी अस्पतालमा भएको घटनापछि वीरगञ्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकले आन्दोलन जारी राखेका छन्, जसका कारण उपचार सेवा प्रभावित भएको छ।
यो पनि पढ्नुहोस :-
बिरामीको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड,आकस्मिक कक्षमा तनाव
नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव, छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनास् पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए,छानबिन गर्न समिति गठन
नारायणी अस्पताल घटनाको विरोधमा पोखरिया अस्पतालमा चिकित्सकको प्रदर्शन,स्वास्थ्यमन्त्रीको राजीनामा माग
नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजका आधारमा आक्रमणकारीको पहिचान गरी कारबाही गरियोस्




















