१२ साउन चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारस्थित सार्वजनिक शौचालय नजिक मुग्लिन–नारायणगढ सडकखण्डमा शनिबार बिहान करिब ८ः३० बजे सडकमाथिबाट सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फको सवारी आवागमन रोकिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय भइरहेको छ। पहिरो पन्छाउने कार्य जारी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब दुई घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।
बर्खायामसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरोधका घटना बढ्दै गएकाले अत्यावश्यक बाहेकको यात्रा गर्दा मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न चितवन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
विशेषगरी पहाडी तथा राजमार्ग क्षेत्रमा यात्रा गर्ने सवारी चालकले उच्च सतर्कता अपनाउन, सुरक्षित दूरी कायम गर्न र प्रहरी तथा सम्बन्धित निकायबाट जारी सूचना पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ। यात्रुलाई अनावश्यक जोखिम नलिन तथा सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र यात्रा अघि बढाउन प्रहरीले सुझाव दिएको छ ।




















