Logo

३ जेठ,काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन्।

मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सुनाएपछि बुधबार विज्ञप्ति जारी गर्दै नेता चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको बताएका हुन्।

‘जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्छ,’ उनले भनेका छन्।

अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न समेत चौधरीले अनुरोध गरेका छन्।

‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ। हामी अझै न्यायिक पर्वाहमा छौं। त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ। म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रत्तिभर म विचलित छैन। पुस्तक लेखिरहेको छु। केही दिनमा धरातल नामक पुस्तकका साथ तपाईं समझ साक्षात् हुनेछु भन्दै बिदा चाहन्छु,’ चौधरीले भनेका छन्।


सम्बन्धित समाचार