Logo

१४ जेठ,वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानले पैदलयात्रा गरेका अभियान्ताहरुले काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् । वीरगञ्जबाट १० दिन पैदल हिँडेर काठमाडौं पुगेका उनीहरुले बाराको औद्योगिक करिडोरस्थित उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदुषणमुक्त बनाउन ध्यानाकर्षण गराएका हुन् ।

पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहोर सिधै नदीमै मिसाउनाले सिर्सिया नदी विगत तिन दशकबाट प्रदूषित बनेको छ । औद्योगिक करिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी उक्त खोलामा सिधै मिसाउने गरिएको छ । त्यस्तै जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नै नगरी नदीमा सिधै विसर्जन गर्ने गरिएको हो ।

चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा संघर्ष गर्दै आएका सरोज रायले २५ जना अभियान्ताहरु आज दिउँसो १ बजेदेखि धर्नामा बसेको जानकारी दिनुभयो । उहाँले सिर्सिया नदीलाई प्रदूषण र अतिक्रमण मुक्त बनाउन स्थानीय स्तरमा भएको आन्दोलनले नटेरेपछि सरकारलाई दबाब दिन काठमाडौं आउन बाध्य भएको बताउनुभयो ।

नदी प्रदूषण नियन्त्रण गर्न सरकारले बोर्ड गठन गर्नुपर्ने उनीहरुको माग छ । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरले नदीमा फोहोर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटकपटक अनुगमनसमेत गरेको थियो ।

यसैबिच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग गर्दै माइतीघरमा धर्ना बसेका अभियन्ताहरुसँग भेट गर्नुभएको छ । मन्त्री रिजालले धर्नास्थलमै पुगेर उनीहरुसँग मागको बारेमा जानकारी लिनुभएको हो । सो पश्चात धर्नामा बसेका अभियान्ताहरुले मन्त्रीलाई लिखित रुपमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले नदिलाई प्रदुषणमुक्त बनाउने अभियानको माग सम्बोधन गर्नका आफू सकारात्मक रहेको भन्दै धर्ना स्थगित गर्न आग्रह गर्नुभएको थियो । तर मन्त्री रिजालको आग्रह आफुहरुले स्वीकार नगरि धर्ना जारी राखेको अभियानका संरक्षक सरोज रायले जानकारी दिनुभयो । उहाँले लिखित रुपमा नदी प्रदूषणमुक्त बनाउन सरकारले प्रतिवद्धता व्यक्त नगरेसम्म धर्ना फिर्ता नदिने अडान राखेको भन्दै मन्त्री रिजाललाई जवाफ फर्काएको बताउनुभयो ।

 


सम्बन्धित समाचार