Logo

२४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा आज (बुधबार) देखि प्रतिवादी (अभियुक्त) तर्फका वकिलहरूले बहस गर्दै छन्। आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले बहस सकेपछि प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस सुरु गर्ने भएका हुन्।

प्रतिवादीतर्फका वकिललाई बहसका लागि शनिबारबाहेक आजदेखि लगातार आगामी मंगलबारसम्मको समय छुट्याइएको छ।
प्रतिवादीतर्फको बहस सकिएपछि बुधबार फेरि सरकारी वकिलले जवाफी बहस गर्ने र त्यही दिन आदेश जारी गर्ने समय–तालिका छ।

आदेशले पक्राउ परेका १८ अभियुक्तलाई थुनामा पठाउने वा कारागारबाहिरै राखेर मुद्दा अगाडि बढाउने भन्ने विषयमा निर्णय दिनेछ। सरकारी वकिलका तर्फबाट आइतबार महेश खत्रीले, सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई र प्रकाश घिमिरेले तथा मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलालले बहस गरेका थिए।

उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। यस्तै जाहेरवालाका तर्फबाट मंगलबार सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरेका थिए।


सम्बन्धित समाचार