Logo

२४ जेठ,वीरगञ्ज । पर्सा प्रहरीले करिब ३ करोड मूल्य बराबरको सामान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले २ करोड ५५ लाख ३२ हजार ७ सय ७४ मूल्य बराबरको औषधी तथा खुद्रा मालसामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढि सामान लोड रहेको ट्रक काठमाण्डौतर्फ जादैँ गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना ७ ख ५८५२ नम्बरको मालवाहक ट्रक चेकजाँचका लागि रोकेको थियो । सोही क्रममा बिल बिजक शंकास्पद भेटिएकाले वीरगञ्ज–१६ रजतजयन्तीस्थित सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मालवाहक ट्रकलाई बरामद सामान सहित आवश्यक कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।
यसैबिच प्रहरीले भन्सार छलीका खाद्यान्न तथा लत्ताकपडा समेत बरामद गरेको छ ।

प्रहरीले एक लाख ४० हजार ५ सय २५ मूल्य बराबरको सामानहरु बेवारिसे अवस्थामा फेला पारेको हो । वीरगञ्जको सिमावर्ती क्षेत्रबाट चोरी पैठारी गरि ल्याईएका सामानहरु बरामद गरि प्रहरीले आजै आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार