Logo

२६ जेठ,वीरगञ्ज । वीरगन्जस्थित बालसुधार गृहमा रहेका थुनुवा बालकहरुले सास्ती खेप्नु परेको छ । यस विषयमा गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बाल सुधारगृहको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

वीरगन्जमा बिहीबार इन्सेकले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वीरगन्जस्थित बाल सुधारगृहमा रहेका बालकहरुले सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । उक्त गुनासो सुनेलगत्तै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारीले बालसुधार गृहमा पुगेर अनुगमन तथा निरिक्षण गर्नुभएको हो ।

अनुगमन तथा निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बालसुधार गृहका निमित्त प्रमुख कृष्ण साह गोढले शौचालय, सुत्ने कोठा लगायत पर्याप्त संरचनाको अभावमा गर्मीमा बालकहरुले झेल्नुपरेको समस्याहरुबारे जानकारी दिनुभयो । साहका अनुसार बालसुधार गृहको कूल क्षमता ५० जनाको मात्र हो । तर अहिले बालसुधार गृहमा क्षमता भन्दा तेब्बर अर्थात १ सय २८ जना थुनुवा बालकहरुलाई राखिएको छ । बालसुधार गृहको एउटा कोठामा २० जनासम्म बालकहरुलाई राख्नु पर्ने बाध्यता रहेको साहले जानकारी दिनुभयो ।

अनुगनमका क्रममा प्रजिअ रेग्मीलाई साहले बालसुधार गृहमा राखिने बालकले जनही कारागार नियमावलीले तोकेको दैनिक ७ सय ग्राम चामल र ६० रुपैया पाउदै आएको जानकारी दिनुभयो । बालसुधार गृहमा हाल एक जना स्टाफ नर्स कार्यरत रहेको पनि कार्यालयका निमित्त प्रमुख साहले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने बालसुधार गृहमा भएको अभाव र अपर्याप्त संरचनाको व्यवस्थापनका लागि सम्बन्धित स्थानीय निकाय वीरगन्ज महानगरपालिकामा पहल गर्ने आश्वासन दिनुभयो । वीरगन्जको बालसुधार गृहमा सबैभन्दा धेरै जबरजस्ती करणी, लागू औषध र चोरी डाँकाको आरोप लागेका बालकहरु रहेका छन् ।


सम्बन्धित समाचार