Logo

३० जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बालबालिकाको भविष्यका लागि शिक्षा र सामाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा रेस नेपाल, सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जले आयोजना गरेको ‘बालबालिकासँग मेयर’ कार्यक्रममा बोल्दै प्रमुख सिंहले आफूले वीरगञ्जको विकासका लागि क्षणिक उपलब्धि भन्दापनि दीर्घकालिन सोचका साथ काम गर्न खोजेको बताउनुभएको हो ।

विगतका दिनमा सहिलाई सहि र गलतलाई गलत भन्न नसकेकै कारण वीरगन्ज विकासको बाटोमा पछि परेको बताउदै उहाँले अहिलेका पुस्ताले सही कुरा गर्न कसैसँग डराउनुपर्ने आवश्यकता नरहेको जानकारी दिनुभयो । समाजमा भएको गलत क्रियाकलापहरुको बारेमा खुलेर बोल्न र प्रतिवाद गरेर समाज परिवर्तनका लागि अगाडि आउने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले शिक्षा र सामाजिक क्षेत्रको विकास नै स्थानीय तहको विकासको मानक हुने भएकोले यसको लागि शिक्षा क्षेत्रमा ऐनले व्यावस्था गरे अनुरुप हरेक सामुदायिक र संस्थागत विद्यालयलाई पाठ्यक्रम बाहेक अतिरिक्त क्रियाकलापमा पनि जोड दिन निर्देशन दिएको बताउनुभयो ।

बालश्रम, बालमैत्री शासनको विषयमा महानगरपालिकाले लिएको नीतिको बारेमा सहभागी बालबालिकाहरुले गरेको प्रश्नको जवाफ दिदै उहाँले बोलीमा भन्दा पनि व्यवहारमा देखिने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

विगतमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको, बालमैत्री वडा घोषणा गरिएको भएपनि अहिले फेरी उस्तै अवस्था देखिएकाले त्यसलाई दीर्घकालिन रुपमा समाधान गर्न र सडक बालबालिकाको लागि शिक्षा, स्वास्थ्य र भविष्यको विषयमा पनि महानगरपालिकाले जिम्मेवारीपूर्ण ढंगबाट काम गर्ने उहाँको आश्वासन छ ।

मेयर सिंहले युवाहरुबाट वीरगञ्जको विकास र परिवर्तनका सहयोग आवश्यकता रहेको पनि बताउनुभयो ।


सम्बन्धित समाचार