Logo

३२ जेठ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारी रहेको बताएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएको भन्दै आभार प्रकट गर्न पुगेको किसानको टोलीसँग कुरा गर्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

मन्त्री महतले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताएका हुन् । उनले सरकारले तरकारीमा कर स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नका लागि लगाएको दाबी गरे ।

उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताएका थिए ।

‘नेपाल आत्मानिर्भरता तर्फउन्मुख हुन्छौँ भनेर प्रस्ताव गरिएको हो, तर यहाँ जो संगठित समूहहरू छन्, उनीहरूको आवाज ठूलो हुन्छ, हरेक तहमा उनीहरू नै पहिला पुग्छन्,’ मन्त्री महतले भने, ‘धेरैलाई उपभोक्ता मूल्य बढ्ने भयो उपभोक्तालाई मर्का पर्ने भयो भन्ने प्रभावमा परेका छन्, सरकारले उपाय स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने हो, प्रोत्साहन गर्ने धेरै उपाय छन्, त्यसमध्ये एउटा कर लगाउनु पनि हो ।’

मन्त्री महतले करको व्यवस्थाले मूलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए । उनले सुपर मार्केटमा त्यही खालका उपभोक्ता पुग्ने भएकाले त्यहाँ कर लगाएको उल्लेख गरे ।

तरकारीमा कर लगाउने सरकारको कदम मुलुकलाई आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताउँदै उनले भने, ‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो ।’

उनले सरकारले नयाँ प्रविधि प्रयोग गर्ने कृषकहरूलाई प्राथमिकतामा राखेर उत्पादन अनुदान दिने बताए । नेपाली किसानहरूले ढुक्क भएर उत्पादन बढाउन उनको आग्रह थियो ।

 


सम्बन्धित समाचार