Logo

३ असार, वीरगञ्ज । कोशी प्रदेशमा गएराती देखि निरन्त्र परेको पानीले पाँचथर र ताप्लेजुङमा ठूलो मात्रामा जनधनको क्षती भएको छ । पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता भएका छन भने ताप्लेजुङमा एकै परिवारका तीन जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले बगाउँदा जिल्लाका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता छन्।

यस्तै बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र झोलुंगे पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जसले गर्दा मेची राजमार्ग अवरुद्ध छ भने उता भेडेटार निस्किने सडक पनि बन्द भएको छ ।

‍त्यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन्। स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन ।

यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएको प्रहरीले जनाएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए। मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ। यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन्। बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ।

मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन्।


सम्बन्धित समाचार