८ असार वीरगञ्ज । ओखलढुंगामा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। घटनामा परी एक बालक बेपत्ता भएका छन्।
गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनका २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको हो। गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन्।
पहिरोमा परी बेपत्ता भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएका छन्।
ती दुई घरमा बस्नेले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन।