Logo

८असार,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा सबैभन्दा कम बजेट बिनियोजन भयो भन्ने कुरामा सत्यता नभएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा पर्सा निर्वाचन क्षेत्र नं.२ एवम् नेपाली काग्रेंसका सांसद अजयकुमार चौरसियाले मधेस प्रदेशमा किन कम बजेट विनियोजन गरिएको भन्दै सोध्नुभएको प्रश्नमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पर्साको वीरगञ्जको विकास सरकारको प्राथमिकतामा रहेको, नारायणी रङ्गशालाका लागि एक करोड ५० लाख, नारायणी अस्पतालका लागि ४१ करोड, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोग मार्फतको अनुदान जाने व्यवस्था मिलाएको तथा स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।

यसका अतिरिक्त सङ्घबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग, वीरगञ्ज–पथलैया कोरिडोर, चन्द्रपुर–गौर हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सन, बागमती, कमला, चन्द्र नहर लगायतका सिँचाइ आयोजना, विभिन्न औद्योगिक र व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरेर नै अगाडी बढेको जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले तराई मधेस समृद्धि कार्यक्रम, मधेसलाई काठमाडौँसम्म जोड्ने द्रुतमार्ग लगायतका ठुला परियोजना पनि मधेस प्रदेशमै परेकाले तिनको सञ्चालनमा पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले शिक्षाको बजेट नघटाएको भन्दै रैथाने बाली लगायतलाई सरकारले प्राथमिकताका साथ बजेट छुट्टाएको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार