२२ असार,काठमाण्डौ । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोलीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमलकुमार पौडेलले जानकारी दिनुभयो ।
रिटमाथि पर्सि आइतवार सुनुवाइ हुने भएको छ ।एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गरिएको छ ।
प्रक्रिया मिचेर सरकार बनाइएकोले असंवैधानिक कदमविरुद्ध सर्वोच्च पुग्नुपर्ने अवस्था आएको प्रमुख सचेतक भण्डारीले बताउनुभयो ।कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरूका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडर बहुमत पु¥याउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री थापाले आजै पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

















