२२ असार,वीरगञ्ज । बाराको कोल्हवी नगरपालिकाको तत्कालीन नगरप्रमुख भरतप्रसाद भण्डारी नेतृत्वको कार्यपालिकाले नदीजन्य पदार्थको ठेक्का बापतको ५ करोड राजस्व रकम मिनाहा गर्ने निर्णय गरेको खुलासा भएको छ ।
भण्डारी नेतृत्वको कार्यपालिका बैठकले ठेकेदारसँगको मिलेमतोमा वैशाखमा भएको स्थानीय तह निर्वाचन अघि आर्थिक वर्ष ०८९÷८० मा बकैया खोला उत्खनन् बापतको ५ करोड राजस्व मिनाहा गर्ने निर्णय गरेको खुलासा भएको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरुलाई सरकारी राजस्व मिनाहा गर्ने कानुनी अधिकार नभए पनि तत्कालीन कार्यपालिका सदस्यहरुले मिलेमतोमा ठेकदारलाई राहत हुने गरी राजस्व रकम मिनाहा गरेको कोल्हवी नगरपालिकाको लेखा शाखाले जनाएको छ ।
पुरानो कार्यपालिका बैठकले छठिया निर्माण सेवाका प्रोपाईटर सुरेन्द्र कुमार चौधरी, विशाल कन्ट्रक्सन मौलापुर रौतहटका प्रोप्राइटर बुनिलाल राय यादव र मकेश्वर निर्माण सेवा कोल्हवी–४ का प्रोप्राइटर बसन्त चौधरीलाई बकैया खोला उत्खनन् ठेक्का बापतको २०७५ सालदेखिको राजस्व मिनाहा गरेको छ ।
यता लेखा शाखाका प्रमुख सुरेन्द्र चौधरीले भने मिलेमतोमा पुरानो कार्यपालिकाले कोरोनाको बहानामा ठेकेदारलाई फाइदा हुनेगरी राजस्व मिनाहा गरेको आरोप लगाएका छन् । नगरपालिकाको राजस्व मिनाहा गर्ने निर्णयविरुद्ध महालेखा प्रमुखको कार्यलयले बेरुजु देखाएर असुलउपर गर्न निर्देशन दिएको छ ।
कोल्हवी नगरपालिका तत्कालीन नगरप्रमुख भरतप्रसाद भण्डारीले आफ्नो कार्यकालमा ३ करोड राजस्वमात्रै मिनाहा गर्ने निर्णय गरेको बताएका छन् । भण्डारीले कानुन बनाएर मिनाहा गर्न सक्ने व्यवस्था भए पनि त्यसबारे आफूलाई जानकारी नभएकाले कार्यपालिका बैठकबाट मिनाहाको निर्णय गरिएको बताए ।


















