Logo

२३ असार,वीरगञ्ज । वीरगञ्ज भन्सार मातहतको एकीकृत जाँच चौकी (आईसिपी) मा एक हजार भन्दा बढि नयाँ सवारीसाधन थन्किएका छन् । चालू आर्थिक वर्ष ०७९÷८० सकिन लाग्दा एक हजार ७ सय २८ वटा गाडीहरू भन्सार जाँचपास नभएको कारण आईसिपीमै थन्किएका हुन् ।

नेपाल इन्टरमोडेल यातायात विकास समिति, वीरगञ्जका प्रमुख कमल ज्ञवालीले हालसम्म वीरगञ्जस्थित आईसिपीमा होल्ड भएका उक्त नयाँ सवारीहरु मध्ये एक हजार २ सय ४५ वटा नयाँ गाडीका चेसिस मात्रै रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ४ सय ८३ वटा विभिन्न कम्पनीका जीप, कार, भ्यान आईसिपीमा थन्किएका छन् ।

यदि यी सबै गाडी असार मसान्तसम्म जाँचपास भएमा इन्टरमोडेललाई ३३ करोड पार्किङ शुल्कबापत रकम प्राप्त हुने उहाँको भनाइ छ । भारत वा विदेशबाट गाडी आयात गरी आइसिपीमा प्रवेश गराउँदा २४ घण्टासम्म पार्किङ शुल्क लाग्दैन, सोपश्चात एक सातासम्म, एक महीनासम्म र त्यसपछि फरक–फरक समयावधिमा गाडी पार्किङ गरी होल्ड गर्दा प्रतिदिन अधिकतम ८ सय ३० पार्किङ शुल्क बापत तिर्नुपर्ने ज्ञवालीले जानकारी दिनुभयो ।

त्यसैगरी, वीरगंज भन्सारको आइसिपीबाट ती गाडीहरू जाँचपास गरेर आयातकर्ताले लगेमा करिब १० अर्ब राजस्व उठ्ने आँकलन गरिएको छ । वीरगंज भन्सारले पाएको लक्ष्य भेटाउन १० अर्बले सहयोग गर्ने विश्वास गरिएको थियो तर त्यसो हुन नसकेको वीरगंज भन्सारका अधिकारीहरूले बताएका छन् ।

नयाँ सवारीसाधनको जाँचपासमा गाडी खरीद गरेको मूल्यमा भन्सार महसूल, अन्तःशुल्क, भ्याटलगायत अन्य राजस्व गरी तीन सय प्रतिशतसम्म राजस्व आयातकर्ताले तिर्नुपर्छ । सोही कारणले गाडीहरूको जाँचपास नभएको बताईएको छ ।

 


सम्बन्धित समाचार