Logo

२५ असार, काठमाडौं । संघीय संसद्को अवरोध हटाउन एमाले तयार देखिएको छ। संसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज सिंहदरबारमा छलफल भएको थियो।

छलफल सकारात्मक भएको एमालेका एक नेताले बताए। ‘छलफल सकारात्मक छ,’ ती नेताले भने। यता एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिएका थिए।

प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ।

आज त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दियो।

एमाले संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीसँगको छलफल सकिएलगत्तै एमाले संसदीय दलको बैठक बस्ने भएको छ। एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्न लागेको हो।

नेतृ सुनिता बरालका अनुसार संसदको अवरोधबारे पार्टीको थप रणनीति बनाउन संसदीय दलको बैठक बस्न लागेको हो।केहीबेर अघि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद्का दुवै सदन अवरुद्ध गर्दै आइरहेको छ। प्रतिनिधिसभाको बैठक आज ३ बजे बोलाइएको छ।


सम्बन्धित समाचार