Logo

२५ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर प्रश्न उठेपछि संसदमा बोल्न दिनु पर्ने बताउँदै संसद अवरोधबारे विरोध गरे ।

‘यत्तिको प्रश्न उठेपछि के मैले यो सम्मानित सदनमा उभिएर आफ्नो धारणा राख्न नपाउने हो ? किन तीन दिनसम्म यो संसद अवरोध गरियो ? के प्रतिपक्षीले राजिनामा माग्नेबित्तिकै राजिनामा दिनु पर्ने हो ?,’ प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्दै प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डले २०६८–६९ सालताका आफ्नो जेठी छोरी ज्ञानु दाहाललाई क्यान्सर लागेर दिल्लीमा उपचार गराउन गएको बताउँदै सोहीबेला प्रितम सिंहले आफ्नो घरमा बस्न आग्रह गरेको बताए । त्यही समयमा प्रितम सिंहसहित उनको परिवारलाई आफूले भेटेको प्रचण्डले बताएका थिए ।

‘छोरीको उपचारका क्रममा सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाई नै हुनुपर्छ भन्ने कुरा उठाउनु भयो– त्यतिबेला, देशमा ठूलो परिवर्तन ल्याउने तपाई नै हो, मैले दिल्लीमा पनि यो कुरा भन्ने गरेको छु, नेपालमा पनि यो कुरा भन्ने गरेको छु,’ उनले भने । यसै क्रममा उनले प्रितम सिंह कुनै शक्ति केन्द्रमा नभएको दाबी गरे ।

संसदमा बोल्दै गर्दा भावुक हुँदै प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनको दिन आफूले राष्ट्रघात गर्ने कुरा नगरेको बताउँदै प्रधानमन्त्रीको हैसियतभन्दा एक विरामी छोरीको बुवा भएर बोल्नु पुगेको बताए ।

‘यहाँहरू सबैलाई थाहा छ, म अलिकति भावनात्मक छु, अलिकति सेन्टिमेन्टल छु, यही त प्रचण्ड भएँ,’ भावुक हुँदै प्रचण्डले भने, ‘प्रधानमन्त्रीको हैसियतमा मैले त्यो दिन यस्तो भाषा बोल्नु हुँदैन थियो, तर विरामी छोरी ज्ञानुको बुवा भएर बोलेँ ।’

प्रितम सिंह कुनै शक्ति केन्द्र नभएको बताउँदै प्रचण्डले आफ्नो विरामी छोरीलाई र आफ्नो परिवारलाई दुःख पर्दा साथ दिएकाले सदासहायता मात्रै भएको बताए ।


सम्बन्धित समाचार