Logo

असार २८, वीरगञ्ज । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग खेल्दैछ ।

चीनमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल ढाकामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन् ।

त्यसबेला काठमाडौंमै घरेलु टोली नेपाललाई ३-१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो । यस पटक नेपाल त्यो हारको बदला लिने लक्ष्यमा छ ।

इजरायली क्लब हापोन रानानामा अनुबन्ध हुँदै युरोपियन लिग खेल्ने तयारीमा रहेकी नेपाली स्टार सावित्रा भण्डारीको लय नेपालको लागि सहयोगी बन्ने प्रशिक्षक अनन्त थापा र कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको विश्वास छ ।

उता बंगलादेशले भने त्यसपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

साफ जितेपछि मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटोनले टिम छाडेका थिए भने बंगलादेशी टिममा अन्य खेलाडी पनि परिवर्तन भएको छ ।


सम्बन्धित समाचार