Logo

२ साउन,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जडान गरिएको सीसीटीभी चोरी गर्ने एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा घर भई वडा नम्बर १३ तेजारथ टोलमा डेरा गरी बस्ने बर्ष २२ का आशिष कुमार चौधरीलाई सामुदायिक सेवा केन्द्र मुर्लीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

चौधरीले वडा नम्बर ११ को त्रिमूर्ति हल पछाडि जडान गरिएको सीसीटीभी क्यामेरा चोरी गरेको पाईएपछि उनको खोजी भईरहेको थियो । खोजी गर्ने क्रममा आज बिहानै त्रिमूर्ति हलतिरै घुमीरहेको अवस्थामा बोलाएर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेको सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव कुलनारायण प्रधान दिलिपले जानकारी दिनुभयो ।

उनको डेरामा खानतलासी गर्दा सीसीटीभी क्यामेरा पनि फेला परेपछि आवश्यक कारवाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाईएको प्रधानले बताउनुभयो । पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार