Logo

४ साउन,काठमाडौं । रुसी मिसाइल आक्रमणले ६० हजार टन अन्न नष्ट भएको युक्रेनी अधिकारीहरुले बताएका छन्।लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा ठूलो क्षति पुगेको युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले बताए।

रुसले ब्ल्याक सी पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको केही घण्टामै युक्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो।

यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो। रुसले पछिल्लो आक्रमणमा ओडेसाको अनाज टर्मिनल र बन्दरगाह पूर्वाधारलाई लक्षित गरेको थियो।
आक्रमणका कारण अन्न भण्डारमा क्षति पुग्नुका साथै नौ वर्षीय बालकसहित कम्तीमा १२ जना सर्वसाधारण घाइते भएको सैन्य अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रत्येक मिसाइल आक्रमण युक्रेनको लागि मात्र नभई सामान्य र सुरक्षित जीवनको लागि प्रयास गरिरहेका विश्वका मानिसलाई प्रहार भएको बताए। फ्रान्स र जर्मनीले पनि आक्रमणको निन्दा गरेका छन्।


सम्बन्धित समाचार