Logo

५ साउन, काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिने गरी योजना बनाउने बताउनुभएको छ ।

विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुग्नुभएका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही गरिने र आउँदा दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताउनुभएको हो ।

अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताउनुभयो । कतै बालकोट, बालुवाटार र बूढानीलकण्ठ मिलेर यो घटना सामसुम पारिने त होइन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै ’कोट’, ’टार’ र पार्टीको मतलब छैन ।’

उहाँले सुनको अवैध धन्दाजस्ता आपराधिक क्रियाकलाप आउँदो दिनमा नदोहोरिने गरी नयाँ योजना ल्याउने घोषणा समेत गर्नुभयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान शुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाउनु भयो। उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने दाबी समेत गर्नु भयो । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन यो प्रकरणमा मुछ्ने प्रयास गरिएको उहाँको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यावहारिक रूपमा नेतृत्व गरिरहेको उहाँको भनाइ छ । भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि गृहमन्त्री श्रेष्ठ निरीक्षणमा जानुभएको हो । साभार उज्यालो

 


सम्बन्धित समाचार