Logo

जनकपुर, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने गरी तयारी भइरहेको बताउनुभएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुहरुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभयो ।

राजमार्ग क्षेत्रमा दुर्घटना, गम्भीर विरामीको आवागमन, जंगली जनावरको आक्रमणलगायतका आकस्मिक घटना हुने भएकाले पनि राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने आवश्यक रहेको मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

राजमार्ग क्षेत्रमा दैनिक लाखौं यात्रुको आवागमन हुने भएकाले उनीहरुले फोन र इन्टरनेट प्रयोग गर्दा दूरसञ्चारको कारोबार पनि बढी हुने भएकाले ब्यापारिक दृष्टिकोणबाट पनि दूरसञ्चार सेवा बढाउनुपर्ने आवश्यकता देखिएको उहाँले स्पष्ट गर्नुभयो ।

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी गरेको पनि जानकारी दिनुभयो । सीमा क्षेत्रमा नेपाली नेटवर्कको समस्या देखिएको गुनासो आएकाले आवश्यक अनुगमन गरी सेवा विस्तारका लागि विशेष योजना बनाउन पनि उहाँले टेलिकम प्रादेशिक निर्देशनालयका अधिकारीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल टेलिकमको गुणस्तर राम्रो भए पनि सेवाग्राहीको गुनासो व्यवस्थापनमा कमजोरी रहेको औल्याउँदै उहाँले अब कति दिनमा होइन, कति घण्टा सेवा दिन सकिन्छ भनेर योजना बनाउनुपर्ने बताउनुभयो । नयाँ सेवाका लागि वा चालु सेवा अवरुद्ध भएको केही घण्टाभित्रै सेवा सुचारु गर्ने गरी कार्यक्रम बनाउन टेलिकमलाई आग्रह गर्दै मन्त्री शर्माले त्यसका लागि तीन सिफ्ट गरेर भए पनि चौबीसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यस्तै पूर्व सूचनाविना सेवा नरोक्न पनि उहाँले आग्रह गर्नुभयो ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको जानकारी दिंदै उहाँले यसका लागि नेपाल दूर सञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी सेवा विस्तार गर्नेतर्फ पनि ध्यान दिन टेलिकमलाई आग्रह गर्नुभयो ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा ब्यापक सुधार गर्न सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिंदै उहाँले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत सबै क्षेत्रमा सूचना प्रविधिको पहुच विस्तार गर्ने नीति लिएको जानकारी दिनुभयो । यसका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्य आवश्यक रहेकोमा जोड दिंदै मन्त्री शर्माले साइबर सुरक्षा र साइबर सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

एकातिर सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको र अर्कोतिर त्यसको दुरुपयोग हुन नदिन पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिंदै उहाँले विश्वमा विकास भइरहेका नवीनता प्रविधिको प्रयोगमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन तीनै तहका सरकारहरुले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सूचना प्रविधि सेवा नपुगेका ठाउँमा जसरी पनि पुर्याउने र पुगेका ठाउँमा सबै जनताले सूचना प्रविधिको प्रयोग गर्नसक्ने बनाउनु सरकारको प्राथमिक लक्ष्य रहेको स्पष्ट गर्दै मन्त्री शर्माले त्यसका लागि देशका सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने कार्यक्रम प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।

नेपालमा अझै धेरै जनताको सूचना प्रविधिमा पहुँच स्थापित हुन सकिरहेको स्पष्ट गर्दै मन्त्री शर्माले अहिलेसम्म टेलिफोन इन्टरनेट प्रयोग गर्न नसक्ने र नजान्ने व्यक्तिहरुको पहिचान गरेर निःशुल्क सेवा उपलब्ध गराई उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन गरी कार्यक्रम बनाउन पनि उहाँले नेपाल टेलिकमलाई आग्रह गर्नुभयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशका प्रमुख अमुल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका पर्यटनमन्त्री सुनिता यादव, प्रदेशसभा सदस्यहरु, टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे, विभिन्न स्थानीय तहका प्रमुखलगायतले बोल्नुभएको थियो ।


सम्बन्धित समाचार