Logo

९ साउन वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकामा कबाडी कर र वातावरण संरक्षण करको नाममा कर असुल्न तीन दिनदेखि नियन्त्रणमा राखिएको एक ट्रक छाडिएको छ ।

चितवनबाट बाराको सुवर्ण गाउँपालिका–१ बगही गाउँको करण मत्सय फर्मले ना ६ ख ३६५७ नम्बरको ट्रकमा ल्याउँदै गरेको २१ टन तोरीको पिना बोकेको ट्रकसित २१ हजार कर तिर्नुपर्ने भन्दै आइतबारदेखि पिलुवा–कलैया सडक खण्डको उपमहानगरको सिमानामा पर्ने बडहर्वामा नियन्त्रणमा राखिएको ट्रक आज छाडिएको हो ।

कलैया उपमहानगरले चालु आर्थिक वर्षका लागि लगाएको कबाडी कर र वातावरण संरक्षण कर ठेक्कामा ठेकेदारले व्यवसायीबाट अवैध असुली गर्न तोरीको पिना बोकेको ट्रक आइतबारदेखि नियन्त्रणमा लिएका थिए ।

व्यवसायीले कुनै हालतमा अवैध कर नतिर्ने र हर्जानासहित असुल उपर गर्न मुद्दा मामिलामा जाने अडान लिएपछि ठेकेदारले नगरपालिकाका पदाधिकारीको सल्लाहमा ट्रक छाडेको व्यवसायी कपिलदेव साहले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रशासन र उपमहानगरका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका संयोजक लगायतलाई जबर्जस्ती कर असुलीबारे कानुनी व्यवस्थासहित ध्यानाकर्षण गराएपछि ट्रक छाडिएको बताउनुभयो ।

उपमहानगर अन्तर्गत उत्पादित कबाडी सामान निकासीको लागि मात्र कर संकलन गर्न ठेक्का लगाए पनि ठेकेदारले बाहिरबाट आयातित वस्तुको पनि जबर्जस्ती कर संकलन गर्न थालेको बताईएको छ ।

उक्त ठेक्काको जिम्मा डेढ करोडमा वीरगन्ज १४ बहुअरीका विपिन कन्ट्रक्सनको नाममा राधेश्याम पटेललाई दिईएको थियो । कलैया उपमहानगरभित्र उत्पादित पिना नगरबाहिर निकासी गर्दा प्रतिकेजी १ रुपैयाँका दरले कर संकलन गर्नुपर्ने दर निर्धारण गरेको हो ।


सम्बन्धित समाचार