Logo

१० साउन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताए ।

उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ ।जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन् ।

बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।स्थानीय नेत्रबहादुर सारुले भने, ‘उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो ।

बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए । गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जङ्गलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए ।


सम्बन्धित समाचार