Logo

१२ साउन, वीरगञ्ज । पिउने पानीको समस्या झेल्दै गरेका स्थानियलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न सुरु गरेको छ । महानगरले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरण गर्ने कार्यलाई तिव्रता दिएको हो ।

महानगरले वडामा पानी वितरण गर्नका लागि समय तालिका नै सार्वजनिक गरेको छ । महानगरवासीलाई पानीको समस्याबाट राहत पु¥याउने उद्देश्यले बिहान ५ बजेदेखि रातको ८ बजेसम्मको समय नै तोकेर १९ वटा वडामा ट्याङकरबाट पानी वितरणका भईरहेको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले अन्य वडामा पनि पानीको समस्या देखिए उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराउनुका साथै सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरले जनाएको छ ।

यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता पारेको छ । खानेपानीको पाइपलाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले उक्त वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले बताउनुभयो । यता वीरगन्ज महानगरभित्र खानेपानीको मुहान सुक्न थालेपछि खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम पनि बढेको छ ।

चापाकल लगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख निरण महर्जनले जानकारी दिनुभयो । कुल एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगन्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् ।

 


सम्बन्धित समाचार