Logo

१२ साउन,सेढवा । डिभिजन वन कार्यालय पर्साले बिरुवा लगाउने उद्देश्यले घरदैलोमा आमनागरिकहरुलाई निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको छ । वन कार्यालयबाट वा कार्यालयले उत्पादन गरेका स्थानबाट बिरुवा ओसार्ने तथा ओसार्दा अधिकांश बिरुवा नसरी मर्ने गरेकाले सर्वसाधारणहरुको घरसम्म बिरुवा पु¥र्याउने कार्यमा वनकर्मी कर्मचारीहरु अग्रसर भएका हुन् ।

सब डिभिजन वन कार्यालय बसन्तपुरका प्रमुख सुमन पाण्डेले जनताको घरदैलोमा पुगेर निःशुल्क बिरुवा बितरण गर्ने कार्य बिहिवारदेखि शुरु गरेका बताउनुभयो । हिजो र आज जीराभवानी गाँउपालिका वडा नं १ देखि ४ सम्म बिरुवा बितरण गरेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । वन कार्यालयमा एक लाख २० हजार बिरुवा उत्पादन गरिएको र सबै बृक्षारोपणका लागि बितरण गरिने पाण्डेको भनाई छ ।

कार्यालयको नर्सरीमा मसला, अर्जुन, अमला, बेल, बकैना, रातोरानी फूल, महोगनी, गोल्ड मोहर, अम्बा, तेजपता लगायतका बिरुवाहरु उत्पादन गरिएको प्रमुख पाण्डेले बताउनुभयो । जिल्लाका दक्षिणी क्षेत्रस्थित धोबिनी, छिपहरमाई, पकहामैनपुर, कालिकामाई गाँउपालिका, पोखरिया नगरपालिका, बिन्दबासिनी, जगरनाथपुर लगायतका गाँउपालिकाहरुमा घरदैलोमा बिरुवा बितरण गरिने डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत सुभाषचन्द्र दासले बताए ।

किसानले साईकल तथा मोटरसाइकलमा लोड गरी बिरुवा लैजादा पचास प्रतिशत भन्दा बढि बिरुवा मर्ने गरेकोले यो अभियान शुरु गरेको अधिकृत दासको भनाइ छ । आम नागरिकहरुले वन कार्यालयसम्म बिरुवा लिन जान अल्छी मान्ने तथा शत प्रतिशत बिरुवा मर्ने भएकाले यो अभियान सार्थक हुने उहाँको विश्वास छ ।

डिभिजन वन कार्यालय पर्साले वीरगञ्ज चिनी कारखाना, पोखरिया, हरिहरपुर, मिर्जापुर, बसन्तपुर, रंगपुर, मनवा, बढनिहार, सबैया गरी यसवर्ष सात लाख बिरुवा उत्पादन गरिएको र सोलाई बितरण गरिने प्रमुख दासले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार