Logo

१६ साउन,वीरगञ्ज । बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुल नजिकको सडकमा आज बेवारिसे भेटिएको चार महिने शिशुलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढको प्रहरीले टोलीले सडक छेउमा फेला परेको शिशुलाई उद्धार गरेर कलैयास्थित अस्पताल लगेको हो । सडक छेउमा बालकलाई बेवारिसे अवस्थामा देखेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले शिशुलाई उद्धार गरेर अस्पताल लगेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतामा चिकित्सकको निगरानीमा राखिएको छ । प्रहरी उपरीक्षक बोगटीले शिशुलाई सडकमा छोड्ने व्यक्तिको खोजी भईरहेको बताउनुभयो । बोगटीका अनुसार शिशु फेला परेको घटना सार्वजनिक भएलगत्तै अभिभावकत्व लिनका लागि केही व्यक्तिले चासो देखाएका छन् ।

पहिला अभिभावकको खोजी गरिने र अभिभावकको अवस्था पत्ता नलागेमा शिशुको पालनपोषण गर्न सक्ने व्यक्तिलाई कानुनी प्रक्रिया पूरा गरी दिन सकिने उहाँको भनाइ छ ।


सम्बन्धित समाचार