Logo

१८ साउन,काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सरु भएको बैठकमा हिजो अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि १८ नेताले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए। बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ।

ती नेताले पार्टीको पुनस्निर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन्। अध्यक्षले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो।केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको माओवादीले जनाएको छ।

प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ। अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ।माओवादी केन्द्रले केन्द्रीय समितिमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी विधान संशोधन प्रस्ताव गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।माओवादीमा एक सय ९९ वैकल्पिक केन्द्रीय सदस्य छन्। वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाउँछन्।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ।माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको छ । यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो।


सम्बन्धित समाचार