Logo

२५ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको भेटिएको प्रहरीको भनाइ छ ।

२०७३ सालमै सीआईबीले नक्कली प्रमाणपत्रविरुद्धको कारबाही ’अपरेशन क्वाक’ चलाउँदा नै शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएको प्रमाण भेटाएको थियो । तर पक्राउको सूचना चुहिएपछि उनी जापान गएका थिए । नेपालमा विकसित राजनीतिक घटनाक्रम र प्रहरीको नेतृत्व हेरफेर भएपछि शर्मा नेपाल फर्किएका थिए । त्यसपछि राजनीतिक संरक्षणका आडमा उनले आफूलाई पक्राउ गर्नबाट जोगाएका थिए । अहिले बल्ल सीआईबीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणको छानबिन गर्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 


सम्बन्धित समाचार