Logo

फाइल तस्बिर

२७साउन,काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकसहित नेपाली व्यवसायी छुटेका छन्। सुन तस्करी प्रकरणमा संलग्न भएको हुनसक्ने आशंकामा शुक्रबार अध्यागमन विभागले दुई जना चिनियाँ नागरिक र एक नेपाली व्यवसायी रोहन अडुकियालाई नियन्त्रणमा लिएको थियो।

तर तस्करीमा संलग्न भएको पुष्टि हुने आधार नभएको भन्दै उनीहरुलाई छाडिएको हो। शनिबार बिहान अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यवसायी रोहन अडुकिया छुटेका छन्। राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो।

अध्यागमनले नियन्त्रणमा लिएपछि शुक्रबार नै आन्तरिक राजश्व विभागलाई बुझ्नका लागि पत्राचार गरेको थियो। तर विभागले भने यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन।

साँझ राजश्व अनुसन्धान विभागले सीआईबीलाई बुझाउन खोज्दा सीआईबीले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन। दुवै निकायले बुझ्न नमानेपछि अध्यागमनले नै रातभर अडुकियालाई राखेको थियो। सीआईबी र राजश्वले बुझ्न नमान्दा शनिबार भने उनलाई छाडिएको छ। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।

शुक्रबार नै पक्राउ परेका चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पनि छुटेका छन्। उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

संकास्पद गतिविधि रहेको भन्दै राजश्व अनुसन्धान विभागको सिफारिसमा अध्यागमनले ‘ब्याकलिष्ट’मा राखेको थियो।राजश्वले पक्राउ गरेर हिजै सीआईबीलाई बुझाएको थियो। तर सीआईबीले भने सुन प्रकरणमा उनीहरुको संलग्नता पुष्टि नभएको भन्दै रिहा गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो। यो प्रकरणमा हालसम्म पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ।


सम्बन्धित समाचार