Logo

२७साउन,काठमाडौं । पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुनसक्छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेटका अध्यक्ष सादिक संजरानीको नाम पनि परेको छ ।

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्युजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताए ।

अर्कोतर्फ, प्रधानमन्त्री शाहबाज शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

शुक्रबार साँझ भएको उक्त बैठकमा शाहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीहरूलाई विश्वासमा लिइने बताए ।शुक्रबार साँझ प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो ।

अर्कोतर्फ, पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले शुक्रबार लेखेको पत्रमा प्रधानमन्त्री शहबाज शरीफ र विपक्षी नेता राजा रियाजलाई संविधान अनुसार कार्यवाहक प्रधानमन्त्रीको विषयमा निर्णय हुनुपर्ने स्मरण गराएका छन् । कार्यवाहक प्रधानमन्त्रीको नाम अगस्ट १२ भित्र सदनमा बुझाउनुपर्नेछ र राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ ।


सम्बन्धित समाचार