Logo

फाइल तस्बिर

२९ साउन,वीरगञ्ज । बारामा धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नं. ३ र १० बाट मोटर र दमकल चोरी भएको पीडित किसानले बताएका छन ।

धान खेत सिँचाइ गर्न खेतमा राखिएको विद्युतीय मोटर र दमकल चोरी भएको हो । महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरस्थित प्रहरी चौकीदेखि पाँच सय मिटर दुरी रहेका खेतमा विद्युतीय मोटरबाट सिँचाइ गरिरहेको अवस्थामा मोटर चोरी हुँदा दुःख लागेको पीडित किसान कुइस राउत अहिरले बताउनुभयो ।

उहाँका अनुसार रातिको १० बजे मोटर जडान गरी धान खेतमा पानी राख्दै गरेका थिए । दुई घण्टापछि १२ बजे राति मोटर हेर्न जाँदा मोटर नै नरहेपछि चोरी भएको आशङ्कामा चारैतिर खोज्दा कतै मोटर नभेटिएपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

खेतमा जडान गरिएको वडा नं. १० का चुल्हाई महतो नुनियाको विद्युतीय मोटर, प्रेमशङ्करप्रसाद साहको आँपको बगैँचामा पानी राख्न जडान गरिएको मोटर पनि चोरी भएको छ ।

यसै गरी सोही वडाका सक्कलप्रसाद यादव र वडा नं. ३ का इजहार मियाँको दमकल चोरी भएको छ भने चनरदेव यादवको दमकल चोर्न नसकी सोही स्थानमा पल्टाएर छाडिएको छ ।

त्यस्तै ढोढा महतो कोइरीको दमकल चोर्न नसक्दा पसाहा नदीको नहरमा फालिएको अर्का पीडित किसान सीयारामप्रसाद कुशवाहाले बताउनुभयो ।

त्यसै गरी धान खेतमा राखेका ध्रुप महतो कोइरी, महागढीमाई नगरपालिका–३ का सुनील जैसवाल र वडा नं. ४ दहियार टोलका चनरजितप्रसाद यादवको मोटर चोरी भएको छ । उहाँहरू दुवै जनाले माछा पालनका लागि पोखरीमा मोटर जडान गर्नुभएको थियो ।


सम्बन्धित समाचार