Logo

२९ साउन, काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् नेपालमा नौ किलो सुन भित्र्याएको प्रकरणमा नाम जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिन जाने भएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यस्तो भनेर महरा लुम्बिनी हुँदै दाङ पुगेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि गृहमन्त्री श्रेष्ठले महरा ‘आवश्यक परे सीआईबीमै पुगेर बयान दिन तयार रहेको’ सुनाएका हुन्।

बैठकमा प्रधानमन्त्री दाहालले सरकार सुन तस्करी लगायतका संगठीत अपराध छानविनमा प्रतिवद्ध रहेको बताउँदै माओवादी नेताहरूको संलग्नता रहेको अवस्थामा उनीहरू आफैँले यसबारे प्रष्ट पार्नु पर्ने बताएका थिए।

‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैँले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुहोला’, प्रधानमन्त्री प्रचण्डले बैठकमा भने, ‘सीआईबीमा गएर बयान दिन तयार रहनु होला।’

प्रधानमन्त्रीको भनाइपछि बैठकमा महरामाथि लागेको आरोपबारे छलफल भएको थियो। तर महरा बैठकमा उपस्थित नभएकाले उनको भनाई उधृत गर्दै गृहमन्त्री श्रेष्ठ बोलेको बैठकमा उपस्थित एक नेताले बताए।

‘जुन फोन मेरो भनेर आएको छ त्यो मेरो होइन, म र मेरो छोराको संलग्नता सुन तस्करीमा छैन,’ श्रेष्ठले महराको भनाइ उधृत गरे, ‘मैले प्रहरीलाई पनि फोन गरेर मेरो बयान लिनुस्, म बयान दिन आउँछु भनेको छु। अब म निवेदन नै लिएर मेरो बयान लिइदिनुस् भनेर सीआईबीमा जान्छु।’

बैठकमा महराले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटेर यही कुरा राखेर दाङ गएको ब्रिफिङ भएको थियो।

प्रधानमन्त्री प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए।

‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले माओवादीका नेताहरूलाई कारबाही नगरी अन्य दलतर्फ मात्र सरकार केन्द्रीत भएको आरोप लगाउँदै आएका छन्।


सम्बन्धित समाचार