Logo

६ भदौ,काठमाण्डौ । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ आज बेलुका अवतरण हुने जनाएको छ।

सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतवार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।यदि त्यहाँ पानी वा बरफ भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् ।

भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो ।

इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


सम्बन्धित समाचार