Logo

१३ भदौ,वीरगञ्ज । लम्पी स्किनका कारण पर्सा जिल्लामा २ हजार पाँच सय ५७ पशु संक्रमित बनेका छन् । यो रोगबाट जिल्लामा १ सय १ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १४ स्थानीय तहमा हालसम्ममा १ सय १ पशुको मृत्यु भएको छ ।

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा २ हजार पाँच सय ५७ वटा पशु सङ्क्रमित बनेकामध्ये १ सय गाई तथा बाछाबाछी र १ भैँसी रहेका छन् ।

केन्द्रका प्रमुख डा. राजकुमार साहले प्रभावित पशुचौपायाको सङ्ख्या पनि त्यत्ति नै रहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार भन्दा बढि पशु यो रोगका कारण संक्रमित हुदाँ हालसम्म १४ हजार दुई सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ । उहाँले खोप लगाइएका पशुमा यो रोग नदेखिएको बताउनुभयो । जिल्लामा ७७ हजार ९ सय ९३ गाई र ५७ हजार पाँच सय २६ भैँसी रहेका छन् ।

जिल्लाको पर्सागढी नगरपालिकामा सबैभन्दा धेरै पशुहरुमा यो सङ्क्रमण छ । पर्सागढीमा ९५० पशुमा संक्रमणदर रहेको यो रोगका कारण २० पशु मरिसकेको साहको भनाइ छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिकामा १२५, पोखरिया नगरपालिका ६५, बहुदरमाई ५०, ठोरी १३०, जगरनाथपुर ९०, धोबीनी ५२, पकाहामैनपुर ३५, बिन्दबासीनी ५०, सखुवाप्रसौनी ८५, पटेर्वासुगौली ४०, कालिकामाई ७०, जीराभवानी ३९०, छिपहरमाई ४२५ पशु उक्त रोगका कारण संक्रमित रहेको प्रमुख साहको भनाइ छ ।

जिल्लामा १ हजार ६०८ पशुमा यो रोग निको भएको प्रमुख साहले बताउनुभयो । कृषकलाई प्रतिपशु मरेवापत राहत दिन सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला महिना पर्सामा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । यो रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषकको गुनासो छ ।

 


सम्बन्धित समाचार