![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/biplb.jpg?fit=1400%2C931&ssl=1)
१४ भदौ,काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चामा एमसीसीको विषयलाई लिएर तिव्र विवाद सुरु भएको छ ।एमसीसी कार्यान्वयन नगर्न नेकपाका महासचिव विप्लवको प्रस्ताव अन्य मोर्चाका घटकले अस्वीकार गरेपछि असन्तुष्टि चुलिएको हो।
बुधबारदेखि कार्यान्वयनमा आएको एमसीसी परियोजनालाई लिएर विप्लव नेतृत्वको नेकपाले असन्तुष्टि जनाइरहेको छ ।मोर्चामा सामेल सत्तारुढ नेकपा(माओवादी केन्द्र),जनता समाजवादी पार्टी(जसपा) र एकीकृत समाजवादीले एमसीसीको समर्थन गरिसकेका छन् भने विप्लव नेकपा विरोधमा सडकमा आन्दोलित बनेको छ ।
एमसीसी कार्यान्वयनको विषयले मोर्चामा मतभेद भएपछि विप्लव नेकपाले पार्टीको स्थायी समिति बैठक बोलाएको छ । शुक्रबार काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा एमसीसीका कारण मोर्चामा उत्पन्न असन्तुष्टिबारे छलफल हुने जनाइएको छ।
एमसीसी कार्यान्वयको विषयमा मतभेद बढेपछि बिहीबार सुर्खेतमा आयोजित मोर्चाको कार्यक्रम स्थगन गरिएको थियो । पूर्वनिर्धारित कार्यक्रममा सहभागीता जनाउन नेता कार्यकर्ताहरुको उपस्थिति भइसकेपछि अन्तिम समयमा स्थगित भएको थियो।
गत असार ४ गते सत्तारुढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी पार्टी) र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा गठन गरिएको थियो। देशव्यापी कार्यक्रम गरिरहेको मोर्चाले अहिले एमसीसीको कार्यान्वयन पछिको विवादले कार्यक्रम स्थगित भएका छन्।