Logo

१७ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले बिदाको दिन सरकारी गाडी प्रयोगको विषयमा स्पष्टीकरण दिएको छ।

बालेनका स्वकीय सचिव भुपदेव शाहले एक विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी बालेनपत्नी सबिना काफ्लेको जोखिमयुक्त स्थितिमा स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने र सुरक्षाका दृष्टिकोणले समेत उपयुक्त भएपछि महानगरपालिकाको सरकारी गाडी प्रयोग गरिएको बताएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमा सरकारलाई ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको उत्तेजक सन्देश लेखेपछि बिदा (शनिबार)को दिन शाहको परिवारले ‘निजी कामका लागि सरकारी गाडी प्रयोग’ गरेको विषय सार्वजनिक भएको थियो।

मेयर शाहले शनिबार राति सामाजिक सञ्जालमा  लेखेका थिए–
आजको लागी केहि भएन,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने,
सिंहदरवारमा आगो लगाइदिन्छु।
याद राख चोर सरकार।  

ड्यूटीमा रहेका ट्राफिक प्रहरीले आफ्नी पत्नी सवार गाडी रोकेर चेकजाँच गरेपछि शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेखेको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।

सोही विषयमा स्पष्टीकरण दिँदै स्वीकय सचिव भुपदेव शाहले उक्त गाडी मेयर शाह र उनकी श्रीमतीले प्रयोग गर्न पाउनेगरी गृह मन्त्रालयबाट सहमति लिइएको बताएका छन्। स्वकीय सचिव शाहका अनुसार बालेनपत्नी सबिना आफ्नो स्वास्थ्य परीक्षक र एनआईसीयूमा भर्ना रहेका शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ः०० बजेतिर कोटेश्वरमा ट्राफिक प्रहरीले गाडी चेकजाँच गरेका थिए।

‘जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको, तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे। नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो,’ शाहले विज्ञप्तिमा उल्लेख गरेका छन्।

ड्यूटीमा रहेका ट्राफिक प्रहरीले सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने’ भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको शाहको भनाइ छ।

बालेनका स्वकीय सचिव शाहले प्रहरीको व्यवहार र आचरणप्रति प्रश्न उठाउँदै सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नुपर्ने बताएका छन्।

‘प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काइ दप्काइ गर्ने व्यवहार भयो।

कानुनको उल्लंघन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो,’ शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बालेको सचिवालयले गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गराएको भन्दै खेद समेत प्रकट गरेको छ।

यस्तो छ बालेका स्वकीय सचिव शाहले जारी गरेको विज्ञप्ति:


सम्बन्धित समाचार