Logo

१७ भदौ,काठमाडौं । इजरायलको तेल अवीवमा इरिट्रिया दिवस मनाउने क्रममा इरिट्रिया सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरेको छ कि इजरायली प्रहरीले यी झडपहरू रोक्न कारबाही गरेको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हाने र डस्टबिनहरूमा आगजनी गरेको खबर छ ।

इरिट्रियाका यी नागरिक इजरायलमा शरण लिन चाहन्छन् भन्ने बताइएको छ । सामाजिक सञ्जालमा फैलिएको फुटेजमा इरिट्रिया सरकारका समर्थकहरूले सरकार विरोधी प्रदर्शनकारीहरूलाई लाठीले कुटेको देखाइएको छ।

इजरायली डाक्टरहरूले ११४ भन्दा बढी घाइतेहरूको उपचार गरिएको जानकारी दिएका छन्, जसमध्ये ३० जना प्रहरी अधिकारीहरू थिए।

सेप्टेम्बर १ मा इरिट्रियाको दूतावासले क्रान्ति दिवस मनाउन आयोजित कार्यक्रममा हिंसाको घटना भएको थियो। यसैबीच त्यहाँ सरकार विरोधी पनि जम्मा भएपछि दुई पक्षबीच झडप भएको थियो ।

यो दिन १९६१ मा इथियोपिया विरुद्ध इरिट्रियाको स्वतन्त्रता युद्धको सुरुवातको रूपमा मनाइन्छ। यद्यपि इरिट्रियाले १९९३ मा स्वतन्त्रता प्राप्त गर्यो, तर त्यसबेलादेखि यो इसियास अफवेर्कीले शासन गर्दै आएको छ।

मानवअधिकार उल्लङ्घन र दमनकारी शासनको आरोपमा अमेरिका र युरोपेली संघले यस देशमाथि प्रतिबन्ध लगाएका छन्।

मानवअधिकारका लागि काम गर्ने धेरै संघसंस्थाले अफवेर्की सरकारको दमनकारी नीतिको निन्दा गर्दै आएका छन् ।


सम्बन्धित समाचार