Logo

फाइल तस्बिर

२६ भदौ, वीरगञ्ज । वीरगञ्जको विर्तामा रहेको बलसुधार गृह आज साँझ देखि तनाव ग्रस्त बनेको छ । सुधार केन्द्र भित्र रहेका समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो ।

केही दिन अघि भक्तपुरबाट ल्याइएका २३ जना बालकहरुले आफूहरु यहाँ बस्न नसक्ने भन्दै तत्काल अर्को सुधार केन्द्रमा लैजान स्थानीय प्रशासनलाई दवाव दिएका थिए । २३ जना बालकहरुले भक्तपुरको सुधार केन्द्रमा समेत बबाल गरेपछि वीरगञ्ज ल्याइएको थियो ।

भक्तपुरबाट ल्याइएका बालसमूहको उत्साहटमा लागेर सुधार केन्द्र भित्र रहेका अन्यवालकहरुले समेत ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ । घटनामा एकजना महिला प्रहरी घाइते भएकी छन् । उनको आँखा नजिक चोट लागेको छ ।

वीरगञ्ज बालसुधार केन्द्रका प्रमुख टिका काफ्ले सुधारकेन्द्रमा रहेका बालकहरुले भित्रबाट इट्टा र ढुंगा प्रहार गरेको र सुधार केन्द्रको भवन तोडफोड गर्नेगरी आक्रमण गरिरहेकोले सुरक्षा दिन पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोनबाट गुहार मागेका थिए ।

आज राति ८ बजेबाट नाराबाजीमा उत्रिएका उनीहरुले एक्कासी ढुंगा र इट्टा प्रहार गर्न थालेपछि स्थिती तनाव ग्रस्त बनेको हो । पर्साका प्रहरी उपरिक्षक कोमल शाहको नेतृत्वमा ठूलो संख्यामा रहेको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको छ । राति १०.३० बजे सम्म स्थिती तनावपूर्ण देखिएको छ ।

के कारणले बालसुधार केन्द्र भित्र रहेका बालकहरुले आन्दोलन गरेका हुन भन्ने कुरा अझै बाहिर आउन सकेको छैन ।


सम्बन्धित समाचार